‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी


जिन्दगी यस्तै त हो कान्छा      

जिन्दगी यस्तै त हो कान्छा
उमेर चढ्दै गएपछि

सन्तान परदेशिएपछि
रुखोसुखो घर कटेरामै

बाँधिएपछि
बिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छ
उठ्यो–लड्खडाएर फेरि हिँड्यो
यस्तै त छ हो कान्छा
यो जिन्दगी

बाउबाजेको बिँडो थामी खाको
कहिलेकाहीँ त लाग्छ
पुरानो बिग्रेको मोटरजस्तो
एउटा चक्का पञ्चर हुन्छ
टाल्यो काम चलायो
घरिघरि हावा खुस्किन्छ
बनायो फेरि स्लिप खान्छ
स्टेरिङ नै बटारिने गरी
ठोकठाक गरेर दगुर्यायो
फेरि कहिले त
अँध्यारोमा हेड लाइट नै बल्दैन
गुलुब जलेछ भन्यो
मधुरो साइड लाइटले
जेनतेन बाटो धान्यो
लोडसेडिङ हो क्यारे
झ्याप्प–झ्याप्प बत्ति जाने
टुकी बालेर अलि–अलि फुटेको
निक्कै पहिला नेपाल शहर जाँदा
छोराले हाल्देको
पावरको चश्माले काम चलाएजस्तै
अलिक अप्ठेरो बाटोमा त
जिउ पनि हल्लिन्छ
एक नम्बर गियरमा हिँड्दा पनि,
पुरानो मोटरको
हर्न बाहेक सबै बजेजस्तो
शायद–
उमेरले थिचेपछि
व्यवहारले किचेपछि
समस्याहरुले चाउरिएपछि
ढोकाहरु पनि बन्द हुन्छन्
पुरानो मोटरको ढोका
स्टार्ट गर्न तम्सिँदा नखुलेजस्तै
उ त्यहाँ पर घुम्तीको दोकाने साहिँलीले पनि
उधारो माग्छ भनेर हो कि
किन हो ?
देख्ने बित्तिकै मुण्टो बटार्छे
र एक्लै फत्फताउँछे
साँझमा त उधारो पनि मिल्दैन
होला–आफ्नो आफ्नै रिती
घरमा चामल र बेसार थिएन
छोराहरु अम्रिका बसेर के भो र ?
यसो जाडोमा–निगारको तलतलले
आधा तोङ्बा तानुँ कि भनेर
तिनघरे कान्छीकोमा
छिरेको मात्रै
सितन बिनाको तोङ्बा बात है
सुनेपछि लाग्यो कान्छा यो जिन्दगी
बिग्रेको बाटोमा पुरानो मोटर
लड्खडाएर चल्दोरैछ
तेल सकिनै लागेको टुकीजस्तै
निभ्न–निभ्न खोजेर पनि
धिपधिपाएर बल्दोरैछ ।
धिपधिपाएर बल्दोरैछ ।।

-कवि युवराज अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *